समाचार

यसरी ढले २०४६ देखी २०७२ सम्मका सरकार

चन्द्रलाल गिरी

वर्तमान प्रधानमन्त्री केपी ओली ०४६ सालको परिवर्तन पछिका २४ औं प्रधानमन्त्री हुन् । अल्पमतमा परेर विश्वास गुमाइसकेको भन्दै नयाँ गठबन्धनका दलहरुले उनको राजीनामा मागिरहेका बेला वितेको २६ बर्षमा कुन प्रधानमन्त्रीले कसरी राजीनामा दिनुपर्यो भन्ने सन्दर्भ चाखलाग्दो छ।

 

कृष्णप्रसाद भट्टराई (२०४७–२०४८)

भट्टराई ०४६ सालको अन्तरिम कालका प्रधानमन्त्री बनेका काँग्रेसका नेता हुन् । ०४७ को संविधान ल्याउन र ०४८ सालको निर्वाचन गराउनसम्म उनको भूमिका महत्वपूर्ण रह्यो । तर उनले ०४८ सालको चुनावमा काठमाडौं क्षेत्र नं १ बाट मदन भण्डारीसँग पराजित भए । जसको कारण उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्यो।

गिरिजाप्रसाद कोइराला (०४८–०५१)

०४८ सालको आम निर्वाचनबाट बहुमत प्राप्त गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार तीन वर्षसम्म टिक्यो । यो नै ०४६ साल यता सबैभन्दा लामो समय टिकेको सरकार हो । यो सरकार ढल्नलाई काँग्रेसको आन्तरिक गुटबन्दी नै मुख्य रह्यो । काँग्रेसभित्र ३६ र ७४ मा सांसदहरु विभाजित भए । सरकार गठन भएको ६ महिनामै एमालेले कर्मचारीको आन्दोलन थालेको थियो । तर सरकार गिर्ने मुख्य कारण भने २०५० सालको कात्तिकमा आफ्नै पार्टीको नीति तथा कार्यक्रम संसदमा पारित गर्ने बेला ३६ जना काँग्रेसी सांसद अनुपस्थित रहे । जसको कारण कोइरालाले संसद विघटन गरी मंसीरमा निर्वाचन घोषणा गरे । चुनावी परिणाम एमालेको पक्षमा आएपछि कोइरलाले राजीनामा दिनुपरेको थियो।

मनमोहन अधिकारी (०५१–०५२)

०५१ सालको आम निर्वाचनपछि अधिकारीले अल्पमतको सरकार नेतृत्व गरे । नौ महिने कार्यकालमा सरकारले ल्याएको ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम लोकप्रिय मानियो । सरकार ढाल्न गिरिजाबाबुले अविश्वासको प्रस्ताव ल्याएपछि अधिकारीले संसद विघटनको घोषणा गरेका थिए । तर संसद विघटनको मुद्दामा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश विश्वनाथ उपाध्यायले अल्पमतको सरकारले संसद विघटन गर्न नमिल्ने फैसला गरिदिए । यहीबेला अधिकारी बर्दियामा हेलिकप्टर दुर्घटना भएर टिचिङ अस्पतालको बेडमा थिए । अस्पतालकै बेडबाट उनले राजीनामा दिए ।

शेरबहादुर देउवा (०५२–०५३)

देउवाको राजीनामाको प्रसंग पनि रोचक नै छ। उनको पहिलो कार्यकाल एक वर्ष पुग्दा नपुग्दै उनीविरुद्ध एमालेले अविश्वासको प्रस्ताव संसदमा पेश गरेको थियो । आफ्नै पार्टीका गिरिजाबाबुले दुई जना सांसदलाई सिंगापुर पठाइदिएर देउवालाई अल्पमतमा पारी राजीनामा दिन बाध्य पारेका थिए। यही बेलाबाट संसदमा सुरा–सुन्दरी काण्ड र सांसद किनबेचको चर्चा सुरु भएको हो।

लोकेन्द्रबहादु चन्द (०५३–०५४)

एमालेको सर्मथनमा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बन्यो । यो सरकार लगभग छ महिना भन्दा लामो समय टिक्न सकेन । काँग्रेसले राप्रपाभित्रको अर्को पक्ष सूर्यबहादुर थापालाई आफ्नो पक्षमा ल्याएपछि, काँग्रेसले पेश गरेको अविश्वास प्रस्तावबाट सरकार ढालियो ।

सूर्यबहादुर थापा (०५४–०५४)

राप्रपा विभाजन भएर काँग्रेसको समर्थनमा बनेको थापा सरकार पनि छ महिना भन्दा लामो समय टिक्न सकेन । यसको मुख्य कारण एमाले र काँग्रेसका बीचमा भएको अस्वस्थ्य श्पर्धा हो।

गिरिजाप्रसाद कोइराला (०५४–०५५)

०५४ सालको स्थानीय निर्वाचनपछि एमाले विभाजन भयो । वामदेव गौतमको नेतृत्वमा नेकपा माले नयाँ पार्टी बन्यो । जसको कारण कहिले माले त कहिले एमालेसँग मिलेर गिरिजाबाबुले सरकारको तीन पटकसम्म नेतृत्व गर्ने अवसर पाए । उनी (२०५५–२०५५) र (०५५–०५६) मा पनि प्रधानमन्त्री भएका थिए । ०५६ सालको संसदीय निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई आगामी प्रधानमन्त्री घोषणा गरी चुनावी अभियान थाल्यो । त्यसपछि काँग्रेसले चुनाव जितेपछि कोइरलाले राजीनामा गरेर भट्टराईलाई प्रधानमन्त्री सुम्पेका थिए ।

कृष्णप्रसाद भट्टराई (०५६–०५६)

०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले १ सय १४ सीटसहित स्पष्ट बहूमत ल्यायो । भट्टराईको नाममा चुनाव प्रचार गरिएको हुनाले उनकै नेतृत्वमा सरकार गठन भयो । तर सरकार जम्मा छ महिना भन्दा बढी टिक्न सकेन, आफ्नै पार्टीको आन्तरिक गुटबन्दीको कारण । भट्टराईलाई माआवादी समस्या समाधान गर्न नसकेको, सुशासन दिन र भ्रष्टचार रोक्न नसकेको आरोप लगाएर गिरिजाबाबुको नेतृत्वमा अविश्वासको प्रस्तावमार्फत राजीनामा दिन बाध्य पारियो । भट्टराईले रोष्ट्रममा उभ्भिएर आफ्नै सांसद र नेतालाई गाली गर्दै राजीनामा दिएका थिए । त्यसपछि त भट्टराईले काँग्रेस पार्टी नै परित्याग गरे।

गिरिजाप्रसाद कोइराला (०५६–०५८)

०५६ सालको निर्वाचनपछि नेकपा माले पार्टी अस्तित्वमा आएन। काँग्रेसको बहुमत आएपछि एमाले प्रतिपक्षमा बन्यो । कोइराला सरकार लगभग दुई वर्ष टिकेको थियो । रोल्पाको होलेरी प्रहरी चौकीका ठूलो संख्यामा प्रहरीहरु माओवादी कब्जामा परेपछि कोइरालाले सेना परिचालन गर्न खोजेका थिए। दरबार र सेनासँग कुरा नमिलेपछि उनले राजीनामा दिएका थिए ।

शेरबहादुर देउवा (०५८–०५९)

कोइरालापछि प्रधानमन्त्री बनेका देउवाले ०५९ जेठमा संसद विघटन गरी मंसिरमा निर्वाचन घोषणा गरेका थिए । तर असोजमा निर्वाचन अर्को वर्षका लागि सारेपछि उनलाई राजा ज्ञानेन्द्रले असोज १८ गते निर्वाचन गर्न असक्षम प्रधानमन्त्री भनी पदच्युत गरेका थिए र राजाले तत्कालका लागि आफैले अध्यक्षता गरेका थिए ।

लोकेन्द्रबहादुर चन्द (०५९–०६०)

राजा ज्ञानेन्द्रकै इच्छामा छ महिनामा राजीनामा ।

सूर्यबहादुर थापा (०६०–०६१)

राजा ज्ञानेन्द्रकै इच्छामा प्रधानमन्त्री भएका थापाले पनि छ महिनामै राजा ज्ञानेन्द्रको इच्छामा राजीनामा दिएका थिए ।

शेरबहादुर देउवा (०६१–०६१)

थापापछि प्रधानमन्त्री बनाइएका देउवालाई ०६१, माघ १९ गते राजा ज्ञानेन्द्रले दोश्रोपटक अक्षम घोषणा गरी बर्खास्त गरेका थिए।

राजा ज्ञानेन्द्र ( ०६१–०६३)

०६१ सालको माघ १९ मा शक्ति हत्याएका राजा ज्ञानेन्द्र आफै ०६३ वैशाख ११ गतेसम्म मन्त्रीपरिषद्को अध्यक्ष रहे । ०६२\०६३ सालको जनआन्दोलबाट संसद पुर्नस्थापना गरेपछि ज्ञानेन्द्रको शासन अन्त्य भएको थियो।

गिरिजाप्रसाद कोइराला (०६३–०६५)

संसद पुर्नस्थापना पछि काँग्रेस, माओवादी, एमाले र साना दलसहित आन्दोलनरत सात दलको संयुक्त सरकारको नेतृत्व कोइरालाले गरेका थिए । कोइरालाले ०६४ सालको पहिलो संविधानसभाको चुनाव सम्पन्न भएको ४ महिनापछि राजीनामा दिएका थिए । संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा तत्कालीन नेकपा (माओवादी) बनेपछि उनले राजीनामा दिएका हुन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ (०६५–०६६)

पहिलो संविधानसभाबाट माओवादी पहिलो दल बनेपछि दाहाल प्रधानमन्त्री बनेका हुन । दाहालको सरकार बर्हिगमनलाई ०४८ साल यताका प्रधानमन्त्रीहरुमा सबैभन्दा चर्चित ‘राजीनामा काण्ड’का रुपमा चिनिन्छ ।प्रधानसेनापति रुक्माङगत कटवालमाथि उनले चलाएको कारवाही प्रक्रिया २२ दलसहित राष्ट्रपति रामवरण यादवले उल्टाइदिएपछि दाहालले पार्टीभित्र समेत छलफल नगरी प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए ।

माधवकुमार नेपाल (०६६–०६७)

२२ दलको संयुक्त सरकारको नेतृत्व गरेका नेपालले भने आफ्नै पार्टीभित्रको मतभेदका कारण सरकारबाट राजीनामा दिनु परेको थियो । अध्यक्ष झलनाथ खनालको समूहले सरकार ढाली माओवादीको समर्थनमा आफ्नै नेतृत्वमा सरकार निर्माण गरेको थियो ।

झलनाथ खनाल (०६७–०६८)

छ महिना मात्र टिकेको खनाल नेतृत्वको सरकार पनि आफ्नै पार्टीभित्रको अन्तरद्वन्द्वले नै चाँडै ढल्न पुगेको हो । यद्यपी प्रतिपक्ष काँग्रेसले राष्ट्रिय सहमतिको सरकारको लागि पहल नगरेको भने होइन । काँग्रससँग मिलेर एमाले नेता माधवकुमार नेपाल र केपी ओली नै खनाल सरकार ढाल्न लागि परेका थिए।

बाबुराम भट्टराई (०६८–०६९)

मधेसवादी दलको समर्थनमा बनेको सरकारको नेतृत्वकर्ता भट्टराईले पहिलो संविधानसभा आफैले विघटन गरेका थिए । दोस्रो संविधानसभाको निर्वाचन तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा गराउने दलीय सहमति भएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

खिलराज रेग्मी (०६९–०७०)

मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी दोस्रो संविधानसभाको चुनाव गराउँदासम्मको सरकार प्रमुखको हैसियतमा रहे। ०७० साल मंसीरमा चुनाव सम्पन्न गराएर उनले दलहरुलाई सरकारको साँचो सुम्पे ।

सुशिल कोइराला (०७०–०७२)

कोइरालाले एमालेसँग मिलेर सरकार बनाए । माओवादी प्रतिपक्षमा बसेको थियो । ०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि भने काँग्रेस, एमाले, माओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का बीचमा १६ बुँदे सहमति भयो । सो सहमति अनुसार कोइरालाको नेतृत्वमा संविधान जारी गर्ने र त्यसपछि एमालेको नेतृत्वमा संविधान कार्यान्वयन गर्ने दलहरु बीचमा सहमति भएको थियो । संविधान जारी भएपछि कोइरालाले समझदारी अनुसार ओलीलाई नेतृत्व दिएनन्। सदनमा भएको प्रधानमन्त्रीको चुनावमा आफै उमेद्वार बने र पराजित भए। माओवादी र राप्रपा नेपालसहितका अन्य केही दलले एमालेलाई साथ दिएपछि कोइराला पराजित भए।

केपी शर्मा ओली (०७२–अहिलेसम्म)

प्रधानमन्त्री ओली बन्नु अघि एमाले र माओवादी बीचमा १४ बुँदे सहमति भएको थियो । सो सहमति लागू नभएको भन्दै जेठमा बजेट ल्याउनु अगाडि नै माओवादीले सरकारबाट फिर्ता हुने जनाउ दिएपछि एमाले र माओवादीका बीचमा ९ बुँदे समझदारी भएको थियो । ९ बुँदे समझदारी अनुसार युद्धकालीन मुद्दाहरु हल गर्न एमाले तयार नभएको माओवादीको आरोप छ । तीन बुँदे भद्र सहमति अनुसार बजेट पारित भएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न ओली तयार नभएको जनाएर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमत परेको छ । तर, प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसदको सामना गर्ने बताइरहेका छन् ।

 


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल