समाचार

भारतसँगको यो युद्ध कसरी हार्ने ?

भारतसँगको यो युद्ध कसरी हार्ने ?

 

एउटा कथाबाट शुरु गरौं । कुनै सामन्त वा मुखियाले आफ्नो घरमा बसेको हलिया/कम्लरीलाई काम बिगारेको निहुँमा गाली गर्दै लात्तैलात्ताले हिर्काउँदोरहेछ । हिर्काउने मात्र होइन, त्यसको अनुहारभरि थुकी पनि दिँदोरहेछ ।

आफ्नो सानोतिनो गल्तीमा पनि आफूमाथि अत्याचार गर्ने मालिकको रौद्र रुप देखेर बिचरा त्यो नोकर भने अलिकति पनि रिसाउँदो रहेन छ । रिसले उत्तेजित हुने त कुरै छाडौँ, उल्टो मेरै गल्तीका कारण मालिकले रिसाउनुपर्‍यो भन्दै आफैलाई धिक्कार्दाेरहेछ । ऊ क्रोधित भएको मालिकलाई थप उत्तेजित पार्ने कुरा गर्नु महापाप हो भन्ने सोच्दो रहेछ ।

अन्याय सहेरै मालिकको कृपा पाइरहूँ भन्ने कुराबाहेक अन्यथा सोच्नु आफ्नो दुर्दशा निम्त्याउनु हो भन्ने मान्यता स्थापित गरेको हुँदा मालिकले अत्याचार दोहोर्‍याए, तेहेर्‍याए पनि ऊ हरेक पटक प्रतिक्रिया शून्य बन्दो रहेछ । एउटा नोकरले मालिकविरुद्ध जानु हुँदैन, मालिक त अन्नदाता मात्र होइन, भगवान् नै हुन्Ù उहाँको मन अशान्त पार्ने कुरा मैले कदापि गर्नु हुँदैन, मालिकलाई मन नपर्नु कुरा त परै जाओस्, यस्तो कुरा मनमा आउन पनि दिनुहुँदैन भन्ने कुरामा मात्र उसको ध्यान केन्द्रित हुँदोरहेछ ।

कुनै गाउँका सामन्तको अत्याचार र नोकरको सहनशीलताको चक्र यसपटक विगत तीन महिनादेखि नेपालमा चक्रवात जस्तै घुम्दै आइरहेको छ । नोकर फेरिएको छ, तर पात्र उस्तै छ । मालिकको विशेषीकरण भएको छ र चरित्र उही छ । परिवेश व्यापक छ, तर यसमा परिवर्तनको कुनै गुञ्जाइस छैन ।

माथि वर्णित नोकरको निरीहताको रुपक अहिले के.पी. ओली नेतृत्वको सरकारमा प्रतिबिम्बित भएको छ । भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको कुरा घामजत्तिकै छर्लङ्ग छ । यसबाट सिङ्गो विश्व र त्यसको छाता संगठन संयुक्त राष्ट्र संघ समेत अनभिज्ञ छैन । तर नेपाल सरकार नाकाबन्दी भन्न डराएको र झिनो स्वरमा नाकामा उत्पन्न असहज परिस्थिति भनी परिभाषित गरेको छर थोरै साहस गरेर ‘अघोषित नाकाबन्दी’ सम्म भन्न सकेको छ ।

त्यस्तो देशविरुद्ध नाकाबन्दी गर्ने अन्तर्राष्ट्रिय परम्परा रहिआएको छ जसले आतंकलाई प्रश्रय दिएको छ, आतंककारी क्रियाकलापमा जो आफैं संलग्न भएको छ वा आफ्नो निर्देशनमा कसैलाई यस्ता गतिविधिमा संलग्न गराएको छ,कुनै देशको कार्यकारी शासकले नरसंहार मच्चाएको छ वा गैरसैनिक क्रियाकलाप विरुद्ध सैनिक कारबाही गरी मानवताविरुद्ध जघन्य अपराध गरेको छ ।

के नेपाल यी कुनै गतिविधिमा संलग्न थियो ? के नेपालको कुनै शासकले यस्ता अपराधमा आफूलाई प्रवृत्त गरेको छ ? तर केपी ओली नेतृत्वको सरकारले यी र यस्ता प्रश्नहरु आजसम्म भारतीय जनता पार्टी नेतृत्वको मोदी सरकारलाई सोध्न सकेको छैन । त्यस्तो कुनै अपराध नगरेको अवस्थामा पनि नेपाल किन यस्तो दण्डको भागी भयो भनी नरेन्द्र मोदी वा सुष्मा स्वराजलाई प्रश्न गर्ने आँट न केपी ओलीले गरेको देखियो न कमल थापाले । यी प्रश्नहरुको उत्तर नरेन्द्र मोदीसँग छैन भन्ने केपी ओलीलाई थाहा छ र केपी ओलीले यस्ता प्रश्नहरु कहिल्यै गर्नेछैनन् भन्ने नरेन्द्र मोदीलाई राम्ररी थाहा छ ।

 

वास्तवमै केपी ओलीहरु यस्ता प्रश्नहरु गर्दैनन् किनभने यस्ता प्रश्नहरु गर्दा भारत रिसाउँछ र रिसाएको भारत केपी ओलीहरुको हितमा हुँदैन । नेपाल र नेपालीहरुको हित भन्दा बढ्ता भारत र भारतीयहरुको हित सोच्ने नेपाली शासकहरु काठमाडौँमा रहेसम्म नयाँ दिल्लीलाई सय खुन माफ हुनु सामान्य कुरा हो । जब भारतलाई प्रश्न सोध्ने शासक सिंहदरबारमा हुँदैन र सिंहदरबारमा बसेको शासकले भारतलाई कुनै प्रश्न सोध्ने सामथ्र्य राख्तैन तब दिल्लीमाथि चोरी औंला कसले उठाउने ?

केपी ओली नेतृत्वको गठबन्धन सरकारको निर्माण नेपालविरुद्ध भारतले देखाएको हैकम र दबाब सामु नझुक्ने विन्दुमा सहमत भएर मात्र भएको थियो । त्यसैले नेपाली जनतालाई लागेको थियो, यो सरकार राष्ट्रवादी हो र यसले राष्ट्रिय स्वार्थलाई सर्वाेपरि राखेर मात्र काम गर्नेछ । भारतको अर्घेल्याइँको सामना यसले डटेर गर्नेछ र गृहिणीहरुको चुलोचौकोप्रति चिन्तित र उत्तरदायी भएर विकल्पको खोजी गर्न कति पनि विलम्ब गर्नेछैन ।

नेपाल र नेपालीविरुद्ध भारतले गोलीमात्र नचलाएर यो युद्धको खेल खेल्दै आएको छ र यो सरकार यस युद्धमा अवश्य विजयी हुनेछ । यही आशा र विश्वासमा नागरिकले दुःख-कष्ट, अभाव-असुविधा, महँगी-कालोबजारी, अप्ठ्यारो-असजिलो लगायत स्वाभाविक र कृत्रिम सबै किसिमका समस्याप्रति आँखा चिम्लिदिए, धैर्य गरे र सहनशील बने तर यो सरकार हामीले हेर्दा हेर्दै हामीलाई अब यो सरकारले यो युद्ध जित्न सक्दैन भन्ने कुराको छनक दिलाउन पो दिन लागे जस्तो देखिँदै छ ।

अब आम नागरिकलाई यस्तो लाग्न थालेको छ – सरकार यो युद्ध कसरी जित्ने भन्नेमा होइन कसरी हार्ने भन्नेमा पो बढी तल्लिन हुन पुगे जस्तो छ । हार्ने भन्नेमा पो बढी तल्लीन हुन पुगेको छ । भनिन्छ, प्रत्येक व्यक्तिले हरेक अवसरमा ‘हार्नका निम्ति त पूरै जिन्दगी बाँकी छ, तर जित्नका निम्ति यो अन्तिम अवसर हो’ भनेर मैदानमा उत्रनुपर्छ । यस प्रसङ्गमा कुनै व्यक्तिको ठाउँमा सरकारलाई राख्दापनि परिस्थितिमा कुनै अन्तर आउँदैन । तर, केपी ओलीको सरकार युद्ध जित्ने यो अन्तिम अवसरलाई कसरी हारमा बदल्ने भनेर भित्रभित्रै लागिपरेको भान हुन्छ ।

अहिले परिस्थिति कस्तो छ भने यो युद्धमा भारतले जिते त उसको जित नै भैगो तर उसले हार्दा पनि जित उसैको हुन्छ किनभने बितेका ४ महिनाका बीचमा हामी यस्तरी थिल्थिलो भएका छौँ कि हामीलाई आगामी कैयौँ वर्ष त तंगि्रनमात्र लाग्नेछ । हामी तंगि्रसक्दा भारत धेरै पर लम्किसकेको हुनेछ । हामीले उसलाई भेट्न सक्नेछैनौँ । तर, कथम्कदाचित् हामीले हार्‍यौँ भने यो लडाइँसँगै हाम्रो राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, गौरव, प्रतिष्ठा र आत्म विश्वास समेत हार्नेछौँ । यसपछि हार्न बाँकी हामीसँग अरु केही हुनेछैन, जसलाई देखाएर हामी भोलि फेरि उठ्न सक्ने आशामा बाँच्न सकौँ ।

जित्ने योद्धाका लक्षण नै बेग्लै हुन्छन् । पहिले उसलाई लाग्नुपर्छ, युद्ध हतियारले मात्र जितिँदैन, युद्ध जित्न विश्वास, निश्चय र संकल्प हुनुपर्छ । मर्नु अगाडि नै खुट्टा तन्काउनु भनेझैँ हाम्रो सरकार युद्धमा पीठ फर्काएर भाग्ने मनस्थितिमा देखिन्छ । युद्धको सामना गर्नबाटै डराउने योद्धाले शत्रुले मैदान छाडिदिए मात्र एकलौटी जित्छ (र यसो हुनु सम्भव छ) । रणभूमिमा लडेर जित्नु त्यति सरल छैन किनभने युद्ध सरल रेखामा होइन बहुधा बक्र रेखामा हिँड्छ र युद्धको बक्रताको ज्ञान छैन भने त्यस्ताले लड्नु नै व्यर्थ छ ।

जो पहिलेदेखि नै हार्न तम्तयार भएर बसेको छ, उसलाई जितप्रति के आकर्षण ? बंगालका नबाब सिराजुद्दौलासँग सन् १७५७ जुनमा इस्ट इन्डिया कम्पनीले युद्धको घोषणा गर्‍यो । मीर जाफर सिराजुद्दौलाका प्रधानसेनापति थिए । मीर जाफर पचास हजार सेनाको नेतृत्व गर्दै मैदानमा पुगे । कम्पनीसँग १५० तोपधारी र स्थल सेना ३२०० मात्र थियो । १७५७ जुन २३ को बिहान सबेरै दुवै पक्ष बीच सामान्य भिडन्त हुँदै थियो हठात् मीर जाफरले अंग्रेजसमक्ष आत्मसमर्पण गरिदिए । किनभने अंग्रेजले सिराजुद्दौलालाई हटाउन मद्दत गरेमा जाफरलाई शासनमा पुर्‍याइदिने प्रलोभन दिएका थिए । सिराजुद्दौला भाग्नु पर्‍यो तर भाग्दाभाग्दै उनी मारिए ।

केपी ओलीका वरिपरि सयौँ मीर जाफरहरु छन् जो शत्रुका निम्ति अहोरात्र खटिरहेका छन् । जहाजभित्र मुसाहरु छन् भने तिनले पार्ने प्वालका कारण जहाज डुब्ने निश्चित छ । जसलाई जित्नु नै छैन उसले कहिले जित्न खोज्दैन । भारतले नाकाबन्दी गरेपछि हामी एक किसिमले युद्धमा छौँ, युद्धको बेला युद्धस्तरमा काम हुनुपर्छ । हाम्रो गतिचाहिँ कछुवाको भन्दा कम छ । दन्त्य कथाको कछुवाले त खरायो विरुद्धको दौडमा विजय हासिल गरेको थियो । तर, यो दौडमा त कछुवा (सिंहदरबार) पहिले नै खरायो (नयाँ दिल्ली) सँग हार्न तयार भएर निस्किएको छ । खरायो सुते पनि उसले नहार्ने र निरन्तर हिँडी रहे पनि कछुवाले हार्ने निश्चितप्रायः छ । मानौं म्याचफिक्सिङ भएको हो ।

भारतले नेपालविरुद्ध गरेको तेस्रो नाकाबन्दीले नेपाल अझै राज्य बन्न सकेको रहेन छ भन्ने प्रमाणित गरिदियो । हामी त आजसम्म अर्काको हतियारले युद्ध लड्ने गलत रणनीतिमा हिँड्दै आएका रहेछौं । हामी खाना पकाउने एल.पी. ग्यास अर्काको बुलेटमा बोक्दा रहेछौं । चीनले अनुदानमा दिएको पेट्रोल लिन ट्याङकर पठाउने बेलामा थाहा भयो, धेरै ट्याङ्कर चालक अनुहारले मात्र नेपाली तर आत्माले नेपाली होइन रहेछन् ।

आपूर्ति सम्बन्धी कर्मचारी नै इन्धनमा भारतमाथिको निर्भरताको विकल्पका विरोधी देखिए । नेपालको सरकारी सेवामा बसेर सेवा चाहिँ भारतको गर्ने भृत्यतन्त्रको विकास भएको रहेछ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग भयो । तर, त्यस्तालाई कारबाही गर्न भने सरकार डरायौ किनभने त्यस्ता राष्ट्रघातीलाई कारबाही गर्दा कारबाही गर्ने व्यक्ति नै उल्टो भारतको कारबाहीमा पर्ने डर भयो । हामी यहाँसम्म गिरिसकेका रहेछौँ ।

उड्न खोज्नेले आकाशमा पखेटा फटफटाउन आफैँ सिक्नुपर्छ । पौडन खोज्नेले पानीमा हातखुट्टा चाल्न आफैँ सिक्नुपर्छ । खसिन्छ कि भनेर उड्न नखोज्ने र डुबिन्छ कि भनेर पानी नै नछुनेले न सिक्छ न जित्छ । न सिक्ने र न जित्ने अभ्यासमा हामीले लामो समय बिताउँदै आएका रहेछौँ ।

एउटा सिंहदरबारले बेलैमा बुद्धि नपुर्‍याएर गरेको गल्तीको दण्ड अहिले सारा नेपालीले भोग्नुपरेको छ । भारतले सबै थोक दिन्छ भनेर हामीले करेसाबारीमा सागका बिरुवा सार्न रोप्न छोड्यौँ, खेतमा धान रोप्न छोड्यौँ र बारीमा मकै गोड्न छौड्यौँ । हामीलाई के विश्वास दिलाइयो भने भारतले नून-तेल, चामल-पीठो, लत्ता-कपडा सबै दिन्छ । भारत हाम्रो अन्नदाता र जीवनदाता हो ।

तर, नून र तेलका निम्ति हामी भारतलाई पैसा तिर्छौ भने किन तेलमै नाकाबन्दी भयो भन्नेतिर हाम्रो ध्यान कहिल्यै गएन । पैसा तिरेपछि अरुसँग पनि किन्न सकिन्छ भनेर हिजोसम्म व्यापार विविधीकरण गर्नेतिर एक पाइला पनि चाल्ने कष्ट गरेनौँ । एउटाको मात्रै भर पर्‍यौँ र उसैको शरण पर्‍यौँ । तर कुनै दिन शरणको मरण हुन सक्छ भन्ने बारेमा कहिल्यै सोचेनौँ । र अब ‘मरेपछि खा बाबै केरा’ उखान राम्ररी चरितार्थ हुन लागेको छ ।


यसमा तपाईको मत

More

कर्मचारीको परिचय

More

अभिलेखालय

shirjana ra shangeet
muktak ra ma
गाउँछ गीत नेपाली ..

सामाजिक संजाल